Saturday, February 15, 2014

"प्रेम - पत्र " -Roshan Yakso Limbu को

Roshan Yakso Limbu

"प्रेम - पत्र "

  • (2069-11-03 मा लेखिएको प्रेमपत्र, एउटा प्रतियोगिताको लागि !!!  )                                                                                         
प्रीय दिलसरा ,                                                                                                                                                                 भर्खरै मलाई छोएर जाने एक झोक्का हावाले तिम्रो खबर दिएर गयो । पर्खेर बस्नु,मेरो मायाको एक पोको सन्देश लिएर आउला त्यही हावाको झोक्का;तिम्रो गाउँसम्म - तिम्रो ठाउसम्म।  

                  पहिचान सहितको सङ्घियता र सङ्घियता सहितको संबिधानको एक प्रती अनी मेरो भागको एक अंश खुशी लिएर यो कङ्क्रिटको जङ्गल छोडेर आफ्नै गाउम,आफ्नै ठाउँमा फर्किने सपना सपनामै सिमित भएको बेला,के सुनाउ तिमीलाई मेरो हालखबर्।१२ घण्टे लोडसेडिङ्को चपेटामा परेका काठमाडौं बासी जस्तै म पनि हैरान छु ,बेहाल छु हो हिजोआज।बाँच्न सम्मको लागि बाचेको छु अनी यसैमा खुशी हुनुको बाहाना खोज्दै छु । यो काठमाडौं पनि बिचित्रको छ। हो, हाकु कालेले भने जस्तै - साला गिद्धै गिद्धको शहर ! यही काठमाडौं हो,जस्ले तिम्रो र मेरो भेट हुन दिईरहेको छैन। उहिले जेठमै एक थान संबिधान दिएको भए त्यती खेरै फर्की सक्थे आफ्नै प्यारो गाउम,आफ्नै मान्छेको ठाउँमा । अनी सगुन र पोङ लिएर उहिल्यै आईसक्थे तिमी भएको ठाउँसम्म । तर षड्यन्त्रको सकुनी जाल बुनेर बन्नै लागेको संबिधानलाई उम्किन्नै नसक्ने गरी चक्रब्युहमा फसाइ दियो ।दिलसरा, हिजोआज काठमाडौं फेरी पनि लागेको छ प्रधानमन्त्रिको कुर्सी हडप्ने खेलमा। मन लागदैन यस्तो नौटङ्कि!तै पनि ईतिहासको फड्के किनारामा साक्षी बनेर चुपचाप हेरिरहन बिबस छु तमासा, तीन करोड  नेपाली जस्तै। यस्तो अवस्थामा के नै पो छ र मसँग ? तिमीलाई सुनाउनाका खातिर ।बरु सुनाउ न तिम्रो खबर्,तिम्रो आफ्नो गाउको खबर्,तिम्रो आफ्नो ठाउँको खबर ।
                           कुनै दिन तिमीसङ्गै डुल्न मन लागेको छ गुरास फुल्ने वनपाखा।अनी धित मरुन्जेल हेर्न मन लागेको छ सपना देख्ने तिम्रा बदामी आँखा !दिलसरा, कहिलेकाही चौतारीको डिलमा बसेर पिपिरिको पात बजाउदै मनको बिरह पोख्न मन लाग्छ।हाक्पारे भाकामा मनको गीत गाउन मन लाग्छ।
                  तर कसले बुझिदिन्छ मेरो मनको पिडा? कसले सुनिदिन्छ?मेरो हाक्पारे भाका ! दु:ख लाग्छ,यो काठमाडौं तिम्रो रोधि,सेलो र देउडा पनि सुन्न चाहदैन। किन थाहा छ? आफुलाई आधुनिक भनाउनको लागि i-pad को volume बढाएर चर्को धुनमा "राधा तेरी चुनरी  " र "Gangnam Style" सुन्नमै व्यस्त छ,यो काठमाडौं।कहिलेकाही त लाग्छ,जोड-जोडले चिच्याउदै सुनाईदिउ काठमाडौंलाई पालाम्को केही अंश - "भुटेको मक्कै छुर्पी जस्तो,नबोल्ने माया मुर्ती जस्तो....."; साकेला भाकामा चिच्याउन मन लाग्छ - "सोइ ढोले सोइ  अर्को ढोले खोइ?" तर यो बैरो काठमाडौं मेरो आवज सुन्नै चाहदैन।जसरी हुम्ला,जुम्ला,कर्णाली र दुरदराजको आवज सुन्दैन।अनी त्यतिबेला मलाई नमज्जाले तिम्रो याद आउछ।दिलसरा,कमसेकम तिमी त छौ एक जना जो मेरो हरेक सुख र दु:खका कुरा झर्को नमानी सुनिदिन्छौ । 
                                                                                                                                                                दिलसरा,पत्तै नपाई समयले कती चाडै नेटो काटी सकेछ।देउरालीमा पिरतिको पाती च्ढाएर हामी छुट्टीएको ठ्याक्कै डेढ बर्ष भईसकेछ।यो बर्षको Valentine's Day यस्तै भयो।तिमिलाई भेट्न समय मिलाउन सकिन।मैले भन्नै पर्छ - I AM SORRY  !दिलसरा,आकाशको जुनलाई सुन बनाएर तिम्रो हातमा थमाइदिने वाचा त गर्न सक्दिन।तै पनि वाचा भयो अर्को सालको पुसे मेला - माघे मेला सङ्गसङ्गै घुम्न जाउला।अनी अर्को Valentine's Day   मा मौका मिलेछ भने शान्तिको कामना गर्दै लुम्बिनिबाट एक जोर सेतो परेवा उडाउला।धेरै भयो मेरो देश मेरो मुटुजस्तै नराम्ररी दुखेको छ।मेरो मन जस्तै नराम्ररी रोएको छ।

   दिलसरा,                                                                                                                                                                   भर्खरै तिमीलाई छोएर जाने एक झोक्का हावाले मेरो खबर दिएर गयो होला।पर्खेर बस्ने छु, तिम्रो मायाको एक पोको सन्देश लिएर आउँला त्यही हावाको झोक्का;मेरो गाउसम्म - मेरो ठाउँसम्म !                                                        
तिम्रै....
लाजेहाङ

No comments:

Post a Comment